काठमाडौं– कञ्चनपुर जिल्ला अदालतले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा घटनाकाे प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका पूर्व एसपी डिल्लीराज बिष्टसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिष्टसँग १० लाख धरौटी माग्ने आदेश गरेको हो। यसअघि शुक्रबार बिष्टको बहस सकिएको थियो। उनी प्रहरीको हिरासतमा रहेका थिए।
पूर्व एसपी विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र घटनाका आराेपी मानिएका दीलिपसिंह विष्टलाई यातना दिइएको भन्दै मुद्दा दायर भएको थियो।
जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। घटनापछि अनुसन्धानमा संलग्न सिआइबीका डिएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।