काठमाडाैं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) देखि सुरु भएकाे छ।
एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी भएका छन्। यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन्।
परिक्षामा चर्चित अनुहारदेखि शारिरीक रुपमा अशक्त, गर्भवती, वृद्ध, प्रहरी तथा कैदीहरुसमेत सामेल हुँदैछन्। आज पहिलाे दिन अंग्रेजी विषयकाे परीक्षामा नायिका करिष्मा मानन्धर सहभागी भएकी छिन्। काठमाडाैंकाे विजय स्मारक माध्यामिक विद्यालय परीक्षा केन्द्रमा उनले परीक्षा दिइरहेकी छिन्। उनी त्रिवेणी पब्लिक बाेर्डिङ स्कुलकी विद्यार्थी हुन्।
आज परीक्षामा सामेल हुनुअघि नायिका मानन्धरले परीक्षालाई लिएर उत्साहित भएकाे प्रतिक्रिया दिइन्। 'परीक्षाकाे तयारी राम्रै गरेकी छु भन्ने लागेकाे छ। हेराैं के हुन्छ', मानन्धरले भनिन्, 'डर भन्दापनि उत्साहित भएकी छु।'
कलाकारितामा उचाई हासिल गरेकाे तथा उमेरले पनि परिपक्व भएकाे अवस्थामा परीक्षामा सहभागी हुँदा सबैतर्फबाट हाैसला मिलेकाे उनले बताइन्। नायिका मानन्धर आफैं सवारी हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन्।
यस्तै दाङकाे तुलसीपुर माविकाे, तुलसीपुर परीक्षा केन्द्रबाट प्रतिनिधिसभा सदस्य शान्ता चाैधरीले पनि परिक्षा दिँदैछिन्। उनी सरकारी गाडी चढेर परीक्षा केन्द्र पुगकी थिइन्।
उनी नेकपाकी सचेतकसमेत हुन्। कमलरीका कारण उनी पढाइमा वञ्चित भएकी थिइन्। उमेरले पनि पाकाे तथा सांसदजस्ताे जिम्मेवार पदमा रहेर पनि एसइई परीक्षामा सामेल भएकी चाैधरी धेरैकाे प्रेरणाकाे स्राेत बनेकी छिन्।
यस्तै बालसुधार केन्द्रमा रहेका केही बलबालिका पनि परीक्षामा सामेल भएका परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।