काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानकाे ७९औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्।
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गरेकाे समारोहमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, कूटनीतिक नियोगका प्रमुख, पूर्व मन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका पाकिस्तानी नागरिक, सञ्चारकर्मी तथा समाजिक प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत मजहरले पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगेको र द्विपक्षीय सम्बन्ध सधै सुमधुर एवम् प्रगाढ रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना साकार पार्ने लक्ष्यमा नेपाललाई सफलता मिलोस् भन्दै उनले राष्ट्रिय उत्सवको आजको सन्देश शान्त, समृद्ध र स्थिर दक्षिण एसिया रहेकाेमा जाेड दिए।
त्यसअघि शनिबार बिहान महाराजगञ्जस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराइएको थियो। त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले राष्ट्रिय दिवसका अवसरमा जारी गरेका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।