जनकपुर- आजबाट देशैभर सुरु माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश २ का ८ जिल्लामध्ये धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी भएका छन्। धनुषामा विद्यार्थीसँगै परीक्षा केन्द्र पनि प्रदेशका अन्य जिल्लाका तुलनामा बढी रहेको परीक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले बताए।
प्रदेश २ बाट कूल ७२ हजार ४९ परक्षार्थी सहभागी हुँदैछन्। प्रदेशका ८ जिल्लामा कूल २ सय ६३ केन्द्राध्यक्ष तोकिएका छन्। सहायक केन्द्राध्यक्ष भने ३ सय ४५ जना खट्नेछन्। यस्तै ३ हजार ४ सय ३६ जना निरीक्षक खटाएको निर्देशनालयले जनाएको छ। ५ सय ८६ जना सहायक निरीक्षक खट्दैछन्। १ हजार २ सय ८१ जना सहयोगीसमेत परीक्षामा परिचालन हुँदैछन्।
परीक्षा मर्यादित बनाउन निर्देशनालय लागेको छ। परीक्षा मर्यादित बनाउन निर्देशनालयले प्रदेश २ का आठै जिल्लामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक राखेर सबै शिक्षक खटिनेलगायतका निर्णय गरेको थियाे।
निर्देशनालयले सुरक्षा प्रमुखमार्फत जिल्ला तहका सुरक्षा निकायहरुलाई पत्राचार गरिएको जनाएको छ। परीक्षा केन्द्रमा अभद्र व्यवहार नहाेस् भन्न एउटा केन्द्रमा १५ जनासम्म प्रहरी खटाइएकाे छ।
धनुषामा यस वर्ष ११ हजार १ सय ८८ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन्। जिल्लाका ४३ वटा केन्द्रमा ५५ सहायक केन्द्राध्यक्ष तोकिएका छन्। परीक्षा निर्देशनालयका अनुसार ५ सय ४५ जना निरीक्षक खटाइएको छ भने ८७ जना परीक्षा सहायक पनि तोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।