जनकपुर- सडक दुर्घटनामा मानवीय क्षति हुने क्रम महोत्तरीमा बढेको छ। चालू आर्थिक वर्ष २०७५/७६ को साउन १ देखि चैत पहिलो साताभित्र सडक दुर्घटनामा ३२ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षकाे २०७४/७५ को यसै अवधिमा २८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो। गत आवको कूल अवधिमा भने ८१ सवारी दुर्घटनाका घटनामा ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए।
चालू आवको गत साउन १ गतेदेखि यही चैत पहिलो सातासम्म ६८ सवारी दुर्घटना भएका छन्। घटनामध्ये ३६ मोटरसाइकल परेका र मृतकको सङ्ख्या पनि मोटरसाइकल चालक र सवार नै बढी रहेको प्रनि सिंहले बताए।
मृतकमध्ये १६ वर्षदेखि ३० वर्ष उमेर समूहभित्रका ३२ जना परेका थिए। यस वर्ष पनि यो उमेर समूहभित्रका २५ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको कार्यालयको अभिलेखमा उल्लेख छ।
सवारी दुर्घटना धेरैजसो मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म बढी हुने गरेका पाइएको छ। सडक दुर्घटनामा गत आव २०७४/७५ मा १ सय ४० र चालू आवको हालसम्मको अवधिमा ७० जना घाइते भएका छन्। जिल्लामा सडक दुर्घटनाका घटना पूर्वपश्चिम राजमार्गको टुटेश्वर गणन्ता वनक्षेत्रमा बढी हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।