धनगढी- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा घटनाकाे प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट माथिको थुनछेक बहस सकिएको छ। मंगलबार बयानका लागि अदालतमा उपस्थित भएका विष्टको बयानपछि बहस सुरु भएको थियो।
जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार आज बहस सकिएको हो। बहस सकिए पनि समय अभावले आज भने आदेश आउन नसकेको उनले बताए। 'बहस सकिएकाे छ। तर, आज आदेशका लागि समय अपुग भयाे। आइतबार मात्रै आदेश आउने छ', उनले जानकारी दिए।
पूर्व एसपी विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र घटनाका आराेपी मानिएका दीलिपसिंह विष्टलाई यातना दिइएको भन्दै मुद्दा दायर भएको थियो।
जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। घटनापछि अनुसन्धानमा संलग्न सिआइबीका डिएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।