बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताएका छन्। प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका-१ मा रहेको बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पुर्वाधार विकासमा सरकार गम्भीर भएर लागेको बताएका हुन्।
सरकारको 'एक प्रदेश एक मेडिकल कलेज'को अवधारणाअनुरुप सो कलेज बन्न लागेको हो। आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, 'जनता सधैँ पीडामा बस्ने होइन, अब खुसी र सुखी बन्न पाउनुपर्छ। अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ।'
प्रधानमन्त्री ओलीले नेपाल मगन्ते देश नभएको समेत बताए। 'कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेका छन्, विदेशी सहयोग नआएपनि केही फरक पर्दैन, नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत र साधनको सदुपयोग गरेर समृद्ध मुलुक बनाइन्छ', उनले भने।
प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुनजस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे। सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले दाबी गरे। ‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एयरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन्’, प्रधानमन्त्रीले भने, ‘तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ।’
प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको आरोप लगाए। 'आँखा चिम्लेर सरकारको विरोध गरिएको छ, आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवी सहभागी छन्', उनले भने, 'सिके राउतसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेर समेत विरोध भयो, अरुको के कुरा।'
सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न उनले सबैमा अनुरोध गरे।
उनले तिलोत्तमामा निर्माण हुन लागेको मेडिकल कलेज सुविधासम्पन्न र स्तरीय सेवा प्रदान गर्ने किसिमले स्थापना गर्न जरुरी रहेको धारणा राखे। प्रधानमन्त्री ओलीले भने, 'रोगको निदान र उपचारका लागि अन्धविश्वास नराखी वैज्ञानिक पद्धति अपनाउनुपर्छ।'
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अगाडि सारेको बताए। उनले भने, 'यो एउटा सन्तानका रुपमा तिलोत्तमाको आँगनमा निर्माण हुँदैछ, यसलाई सबैले आफ्नो सन्तानका रुपमा माया गर्नु जरुरी छ।'
महासचिव पौडेलले प्रदेशमै स्वास्थ्योपचारका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्न मेडिकल कलेज महत्वपूर्ण सावित हुने बताए।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम समयमै पूरा गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।