काठमाडौं– भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक र उनकी श्रीमती आइतमाली विकविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको हो। हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत रहेका कर अधिकृत विकले पदको दुरुपयोग गरी एक करोड ४२ लाख ६७ हजार ७ सय अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
विकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति आफू र श्रीमतीको नाममा अचल सम्पत्ति खरिद एवं लगानी गरेको अख्तियारको अनुसन्धानमा फेला परेको आरोपपत्रमा उल्लेख छ।
२०६८ असोज २२ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति प्राप्त गरेका उनले ७ वर्षमा आर्जन गरेको सम्पत्ति ३ करोड १० लाख भन्दा धेरै पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
विकले तलबभत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमतीको पारिश्रमिक आय¸ जग्गा बिक्री¸ व्यवसाय आय एवं कर्जा लगायतबाट १ करोड २७ लाख ६६ हजार ९ सय ४५ आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उक्त अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ व्यवसायहरुमा लगानी¸ शैक्षिक खर्च¸ कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायत हेर्दा विकको सम्पत्ति ३ करोड १० लाख ३४ हजार ७ सय २४ रुपैया फेला परेको थियो।
आरोपत्रपमा विकलाई भ्रष्टाचार निवारण ऐन अनुसार बिगो र सोही बराबर जरिवाना गर्न माग गरिएको छ। बिगो बराबरको सम्पत्ति जफत गर्दै कैद सजायसमेत गर्न आरोपपत्रमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।