काठमाडाैं- राष्ट्रिय मानवअधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडीजस्ता महिलाहरुको मानवअधिकार हननका घटनामा कमी आउन ढिलाई नहुने पनि स्पष्ट पारे।
शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच ‘छाउपडीसम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन’ सार्वजनिक गर्दे उनले जनचेतनाको माध्यमबाट छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न सरकारले विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
छाउपडीका कारण महिलाहरुको मृत्यु हुनेसम्मका घटनाहरु बढ्न थालेपछि आयोगले सो सम्बन्धमा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको अध्यक्ष शर्माको भनाई छ।
अध्यक्ष शर्माले छाउपडी जस्ता कुप्रथाको अन्त्यका लागि सरकारले चासो दिएर अभियान सञ्चालन गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले सो कुप्रथा अन्त्यका लागि पीडित पक्षलाई पनि जागरुक बन्न सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।