काठमाडाैं- प्रतिनिधिसभाका सांसदहरुले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक’का केही दफा संविधानको मर्म र भावना विपरीत हुनेगरी आएको उल्लेख गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र महेश्वरजंग गहजराजले सो विधेयकमा ‘गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद गर्ने र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ’ भन्ने प्रावधान संविधान विपरीत आएको उल्लेख गर्दैै तत्काल हटाउन माग गरेका हुन्।
शुक्रबार संघीय संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यसमेत रहेका सांसद तामाङले धार्मिक तथा जातीय समुदायमाथि गम्भीर आघात पार्ने खालको प्रावधान सो विधेयकमा उल्लेख गरिएको भन्दै आपत्ति पनि जनाए। उनले सो प्रावधान हटाउन पनि सरकारसँग माग गरे।
समितिका अर्का सदस्य गहतराजले संविधानको मर्म र भावना विपरित ‘गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद गर्ने’ सो विधेयकमा राखिएको प्रावधान संविधानको भावनाविपरीत भएकाले तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराए।
समितिका अर्का सदस्य प्रेम सुवालले जब्बरजस्ति करणी गर्नेमाथि कडा कारबाही हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे। उनले सम्पत्ति नभएका व्यक्तिले जब्बरजस्ती करणी गरेमा उनीबाटै क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। विधेयकमा सम्पत्ति नभएका व्यक्तिलाई जब्बरजस्ती करणीको अभियोग लागेमा सो व्यक्तिको क्षतिपूर्ति पीडित पक्षलाई राज्यले उपलब्ध गराउने उल्लेख गरिएको छ। त्यसो गरिए दोषीले उन्मुक्ति पाउने सुवालको भनाइ छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय निरुपणमा समस्या देखिएको भन्दै सो विधेयकलाई छिट्टै पारित गरिदिन संघीय संसदका सांसदहरुलाई आग्रह गरे।
सरकारले मुलुकी संहितामा देखिएका त्रुटीहरु सच्याउने उद्देश्यका साथ सो विधेयक संशोधनका लागि संघीय संसदमा पेस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।