जनकपुर– तराईका जिल्लाहरुमा बिहीबार नै होली मनाइएको भए पनि जनकपुरमा भने आज मनाइँदैछ। अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शुक्रबार मनाउन लागिएको हो।
जनकपुरधाममा होली चैत ८ गते भएकाले प्रदेश २ सरकारले प्रदेशभरि ७ र ८ गते बिदा दिने निर्णय गरेको थियो।
होलीका लोकगीत, संगीतले आज जनकपुर गुञ्जाएमान भएको छ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ। ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुशी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ।
फागुन शुक्ल पक्षको अष्टमीदेखि फागुन पूर्णिमासम्म मनाउने होली पर्वका धार्मिक, पौराणिक तथा वैज्ञानिक कारण छन्।
होलीका गीत मधेशमा फरक–फरक किसिमले गाइन्छ। यस अवसरमा कसैले गाली गर्दा कोही केही मतलव राख्दैनन् तर कतिपय झगडा नै गर्छन्। ज्वाइँहरु प्रायः ससुराली जाँदैनन् किनभने साला–सालीले बढी सताउँछन्।
फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अविर, सिन्दूर, चढाइ पूजा गरिन्छ। विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ। खानापछि एक अर्कालाई अंगालो मारी माया–प्रेम बाँड्ने चलन छ।
दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अविर लगाई नरिबल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ।
मधेशको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ। यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।