पोखरा– मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष कटे तर सिक्ने मन कहिल्यै बुढो हुँदैन भन्दै बोल्ने कला तालिममा सक्रिय सहभागी भए।
जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा गुरुङको आर्थिक सहयोगमा सञ्चालित पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीममा सहभागी पोखरा महानगरपालिका– १३ का गुरुङ सिक्ने कुरा बाँचुञ्जेल कहिल्यै पूरा नहुने बताउँदै थिए।
“हाम्रा पालामा यस्तो अवसर कहाँ पाउनू, बोल्न नसक्दा र आफ्ना कुरा राख्न नसक्दा धेरै दुःख पायौँ पञ्चायतका पालामा”, आफ्नो विगत सम्झँदै अहिले पनि बोल्ने र आफ्नो कुरा भन्ने रहर नमेटिएको उनले बताए। उनी जस्तै अन्य सहभागीले पनि तालिमबाट धेरै कुरा सिकेको भन्दै बोल्न पनि कला चाहिने रहेछ भन्ने आफ्नो अनुभव सनाए।
तालिम समापन समारोहमा बिहीबार गण्डकी प्रदेशका सदस्य एवं हङकङ ब्युटी इन्ष्टिच्यूटका सञ्चालक मीना गुरुङले बोल्ने कुराले आत्मविश्वास जगाउने भन्दै सामाजिक क्षेत्रमा मात्रै नभई घरपरिवार एवं समाजमा पनि बोल्ने कला आवश्यक रहेको बताइन्।
मादी गाउँपालिका– ६ का वडाध्यक्ष पसबहादुर बाँस्तोलाले परिवर्तित समाजमा बोल्ने कला पनि अपरिहार्य बन्दै गएको धारणा राखे।
महिला उद्यमी एवं समाजसेवी पवित्रादेवी गुरुङले तालिमपछि सहभागीमा आत्मविश्वास बढेको र निर्धक्क कार्यक्रम सञ्चालनदेखि भाषण गर्न सक्षम भएको देख्दा खुशी लागेको बताइन्।
कार्यक्रममा भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष तारा बराल, कामना मार्ग आमा समूहका अध्यक्ष योमाया गुरुङ, समाजका अध्यक्ष अमर गुरुङ र युवा समितिका अध्यक्ष हितमान गुरुङले सिकाइ अभ्यासबाट मात्र पोख्त भइने भन्दै सिक्न सधैँ उत्सुक हुन सहभागीलाई आग्रह गरे।
तालिमका सहभागी बुद्धमाया गुरुङ, अनिल गुरुङ, रोशन गुरुङ, मोहनप्रसाद गुरुङलगायतले बोल्ने कुरा सामान्य मानिए पनि विधि र प्रक्रियाबाट बोलिएको कुराले अर्थ राख्ने बताए। तालिममा ४० जनाको सहभागिता थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।