काठमाडौं– सरकारले विप्लव समूहलाई सिध्याउने कुरा कहिल्यै नगरेको बताएको छ।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहलाई बम बारुद नबोक्न र कसैलाई पनि हिंसाप्रति अभिप्रेरित नगर्न भनेको बताए।
उनले शान्तिपूर्वक तरिकाले राजनीतिक समस्या र असन्तुष्टिलाई समाधान गर्न सकिने र मुलुकले सधैं हिंसा खप्न नसक्ने बताए।
'सरकारले बारम्बार भनिरहेको छ– गोला बारुद त्यागेर आउनुस्। हतियार कुनै पनि कुराको समाधान होइन। हतियारको सशस्त्रीकरणले सामाजिक समस्याको समाधान दिँदैन। त्यसको निम्ति चेतनाको सशस्त्रीकरण जरुरी हुन्छ', उनले भने, 'राजनीतिक मैदान नै खाली छ। शान्तिपूर्ण तरिकाले जता पट्टा खेले पनि हुन्छ। देशको संविधानलाई स्वीकारले हिंसा त्याग्नुपर्यो। आतंक मच्चाउन छोड्नुपर्यो। छोड्दै छोड्दै हुन्न भने हामी के गर्न सक्छौं र? भीरबाट लड्नेलाई रामराम भन्ने हो, काँध थाप्न को जान्छ र?'
मन्त्री बाँस्कोटाले विप्लव समूहलाई सिध्याएर अघि बढ्न नखोजेको बताए। उनले सिध्याउने भन्ने कुरा आफूहरुको शब्दकोषमै नभएको बताए।
'दार्शनिक, राजनीतिक र वैचारिक हिसाबले पनि आजको समाजले स्वीकार गर्न नसक्ने गलत, असम्भव असान्दर्भिक विषयहरुलाई छोडेर आउँदा कोही पनि सानो हुँदैन। त्यसो भयो भने हामी सधैंसधैं संवादको निम्ति तयार छौं', उनले भने, 'तर संवाद थप गलत गतिविधिको निम्ति तयारीको मौका हुन सक्दैन। यो स्पष्ट छ।'
विप्लव समूहले हतियार बिसाउनुपर्ने मन्त्री बाँस्कोटाले बताए।
'संविधानमाथि प्रश्न उठाउन पाइन्छ। तर अहिले संविधानले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन। बल प्रयोगलाई माध्यम बनाउने कुरा स्वीकार गर्दैनौं। हिंसालाई छुट दिन सक्दैनौं', मन्त्री बाँस्कोटाले भने।
उनले देशले बल्ल निर्माण, प्रगति र शान्तिको बाटो लिएको बेलामा फेरि किन शान्त तलाउमा हुँडल्नुपर्यो, ढुंगा फाल्नुपर्यो र पानी धमिलो बनाउनुपर्यो भन्दै प्रश्न गरे। 'के चाहियो, के पुगेन?', उनले प्रश्न गरे, 'प्रधानमन्त्री र राष्ट्रपति हुने सबै व्यवस्था छ त, केका लागि यो द्वन्द्व? यसको जस्टिफाइ कहाँबाट हुन्छ?'
मन्त्री बाँस्कोटाले गैरकानुनी चन्दा असुली बन्द गर्न आग्रह गरे।
'मार्ने भन्ने कुरा हामी हाम्रो शब्दकोशबाट हटाउन चाहन्छौं। त्यो हामीले रोजेको सोचेको विषय होइन', उनले भने, 'यो बुद्ध जन्मिएको देश हो भन्ने सबैलाई थाहा छ।'
मन्त्रिपरिषद्को गत फागुन २८ गते बसेको बैठकले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।