काठमाडौं– सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ।
तत्कालीन अध्यक्ष निकिता पौडेलले बोर्डबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा भट्टराई नियुक्त गरिएको हो। चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी गराए।
सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले यसअघि नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरिसकेका छन्। कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका भट्टराईको निर्माणमा बनेको फिल्म ‘यात्रा’ प्रदर्शनको तयारीमा छ।
यसअघि सञ्चारमन्त्री गोकुल बास्कोटा उपस्थित हुने मन्त्रालयको बैठकमा निकिता पौडेल बिनाजानकारी अनुपस्थित भएपछि सरकारले उनीमाथि स्पस्टीकरण माग गरेको थियो। दबाबमा परेकी पौडेलले त्यसपछि राजीनामा दिएकी थिइन्।
यो पनि : भारतीय कम्पनीबाट दुई रेल किन्न ८४ करोड ६५ लाख बजेट स्विकृति, यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।