काठमाडौं- ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक सेयर बिक्री आजदेखि सुरु भएको छ।
नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम सुरु गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामनमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एक हजार कित्ता आवेदन दिएपछि शेयर बिक्री सुरु भएको हो।
आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सि–आश्वामार्फत पनि सेयर आवेदन गर्न सकिने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ वटा आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गरेको छ। ती आयोजनाबाट ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनी स्थापना गरिएको छ। कम्पनीको सेयरमा आजदेखि छिटोमा चैत ११ गतेसम्म र ढिलोमा आगामी बैसाख ६ गतेसम्म आवेदन दिन सकिनेछ।
सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो।
कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण समेत सुरु भइसकेको छ। मन्त्रालयले ४९ प्रतिशत जनताको सेयर सुनिश्चित गर्न तथा सुरुमा १० प्रतिशत सेयर दिने लक्ष्य राखेको छ।
कम्पनीको जारी पुँजी रु २ अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड ५ लाख बराबरको रु एक सय अङ्कित दरको ३७ लाख ५ हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री सुरु भएको हो।
आवेदकले न्यूनतम एक सय कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। रु एक सय अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ। अग्रिम रूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ।
कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो अयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना निर्माणमा रु ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ। त्यसमा आयोजनाको प्रवर्द्धन नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको समान ३०/३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको ५ प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत, विद्युत प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत, जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्लाका बासिन्दाले स्थापना गरेका कम्पनीका लागि ५ प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत सेयर सुनिश्चित गरिएको छ।
२०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले २०७४ भदौ ६ मा विद्युत खरिदबिक्री सम्झौता गरिसकेको छ। यस्तै लगानीकर्ता बैंक तथा वित्तीय संस्था र कम्पनीबीच गत भदौ ४ गते ऋण सम्झौता भएको थियो।
आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधीन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ।
उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडन उत्पादनगृहदेखि थ्री ‘बी’ हब सवस्टेशनसम्मको तीन किमी लामो १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी छ। समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ।
आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।