काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न आयोगका अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस व्यक्तिहरुलाई नियुक्त गरेकी छिन्।
बिहीबार उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग तथा मुस्लिम आयोगका अध्यक्षहरुलाई नियुक्ति गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
ती आयोगका अध्यक्षमा क्रमशः बालानन्द पौडेल, शान्तराज सुवेदी, विजयकुमार दत्त, बिष्णुप्रसाद चौधरी र समिम मिया अन्सारी सिफारिस भएका थिए।

आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमक्ष नवनियुक्त अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।
गत फागुन ६ बसेको संवैधानिक परिषद्को बैठकले यी पाँच आयोगका अध्यक्ष सिफारिस गरेको थियो। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रतिपक्षी दलका नेताको अनुपस्थितिमै सिफारिस गरिएको भन्दै विरोध जनाउँदै आएको छ। उसले अध्यक्षहरुको संसदीय सुनुवाइ समेत बहिस्कार गरेको थियो।
यद्यपि, फागुन २१ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकले मुस्लिम आयोगका अध्यक्ष बाहेक अन्य अध्यक्षलाई स्वीकृत गरेको थियो। मुस्लिम आयोगका अध्यक्षको नागरिकता लगायतका विषयमा विवाद भएपछि सुनुवाइ समितिले निर्णय गर्न सकेको थिएन। उनी ४५ दिनभित्र सुनुवाइ गरिसक्नुपर्ने अन्यथा स्वत योग्य हुने संवैधानिक प्रावधान अन्तर्गत अध्यक्ष बन्न सफल भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।