बनेपा- शेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट शेयर कारोबार गर्न थालेका छन्।
बनेपामा विभिन्न शेयर ब्रोकरले कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै शेयरसम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढेको देखिएको छ।
'समयको बचत भएको छ र त्यहाँभन्दा बढी सुविधा पाएका छौँ,' बनेपाका शेयर लगानीकर्ता राजकुमार तिमल्सिनाले भने। उनले करिब सात महिनादेखि शेयरका लागि काठमाडौँ जान बन्द गरेको उल्लेख गर्दै शेयर कारोबार गर्ने अधिकांश काठमाडौँ नजाने बताए।
भिजन सुक्युरिटिज प्रालि (३४), नम्बर ब्रोकर कार्यालय बनेपाका प्रमुख प्रकाश अधिकारीले ग्रामीण क्षेत्रबाट शेयर कारोबार गर्न आउने केही नयाँ सदस्य थप भए पनि अधिकांश पुरानाले नै कारोबार गर्ने गरेको बताए।
'कारोबार बढेको समयमा त झन् दबाब बढी हुन्छ त्यसैले पनि शेयर कारोबारप्रतिको आकर्षण बढी भएको देखाउँछ,' उनले भने। अधिकारीका अनुसार आइतबार मात्रै बनेपा शाखाबाट १२ हजार ५५० कित्ता शेयरको रु एक करोड १० लाख आठ हजार १२ को कारोबार भएको छ। कारोबार भएकामध्ये सबैभन्दा बढी बैंकिङ क्षेत्रको छ।
यसबाहेक ४० नम्बर ब्रोकर कार्यालय क्रियटिभ सेक्युरिटिज प्रालि र डायनामिक सेक्युरिटिज प्रालिले पनि यस क्षेत्रमा सेयर कारोबार गर्दै आएका छन्। व्यापारिक केन्द्रका रुपमा रहेको बनेपामा धुलिखेल, पनौती, भक्तपुर पाँचखाल लगायतका क्षेत्रबाट पनि शेयर कारोबारका लागि आउने गर्छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।