जनकपुर- जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई यस वर्षको 'महामूर्ख' पदक दिइने भएको छ। प्रत्येक वर्ष होलीको अवसरमा मिथिला नाट्यकला परिषद्ले दिने यो मानपदवी हेर्न स्थानीय प्रतिक्षारत छन्। महामूर्ख मान र सम्मान तोक्न मिनापले छुट्टै उपसमिति नै बनाउने गरेको छ।
यस वर्ष महामुर्ख उपाधिका लागि सर्वाधिक चर्चामा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरका मेयर साह, नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नाम अग्रपंक्तिमा थियो। मिनाप सूत्रले दिएको जानकारीअनुसार उपसमितिले मेयर साहको नाममा मोहर लगाएको छ।
मिनापले बुधबार दिउँसो २ बजे जानकी मन्दिर प्रांगणमा कार्यक्रम गरी यो उपाधिबाट मेयर साहलाई सम्मानित गर्नेछ। यसका साथै दुई दर्जन व्यक्तिलाई विशेष पदवी दिइने पनि बताइएको छ।
लोढा शंकर, सिलौट शंकर, मुसरीलाल, गेनालाललगायत नामकरण भएको पदवी क-कसले पाउँछन् भन्ने निर्क्याेल भइनसकेको मिनापले जानकारी दिएको छ।
यसैबिच मिथिला नाट्यकला परिषद् जनकपुरले आयोजना गरेको होली गायन प्रतियोगितामा धनुषा जमुनिवास प्रथम भएको छ। जानकी मन्दिरमा आयोजना गरिएको उक्त प्रतियोगितामा सप्तरी राजविराजबाट आएको समूह दोश्रो भएको छ। धनुषाको हरिपुर तेश्रो भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।