काठमाडौं- काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएर विप्लव समूहका २ जना सदस्यलाई पक्राउ गरेको छ भने काठमाडौंबाट पनि २ जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरु नख्खुस्थित एनसेल कार्यालयमा र वैदेशिक राेजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटमा संलग्न रहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले नेपाल लाइभलाई जानकारी दिए।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ३० वर्षीय नुमबहादुर विक, भोजपुरको टेम्केमैया गाउँपालिका–१ का ३१ वर्षीय डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङ छन् ।
नुमबहादुर र डिकेन्द्रलाई प्रहरीले सोमबार बिहान काठमाडौंबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुबाट नख्खु र व्यवसायी रोहन गुरुङको घरमा बम बिस्फोटमा संलग्न अन्य व्यक्ति काभ्रेको रोशीमा लुकेर बसेको भन्ने सूचना पाएपछि महाशाखाको टोली त्यसतर्फ गएको थियो । अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा मंगलबार साँझ रोशीको काफलडाँडा पुगेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायर गरेपछि जवाफी कारबाही स्वरुप ४ राउण्ड फायर गरेर पक्राउ गरिएको थियो ।
प्रहरीले उनीहरुको साथबाट महान सर्वहार सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताब समेत बरामद गरेको छ ।
सुरुमा स्थानीयबाट केही दिनअघि मात्रै विप्लव समूहको गतिविधिबारे जिल्ला प्रहरी कार्यालय काभ्रेमा खबर आएको थियो। 'मुभमेन्ट' छ भन्ने प्रारम्भिक जानकारी आएपछि प्रहरीले त्यही अनुसारको तयारी गरेर जाने निर्णय गरेको थियो', स्थानीय एक प्रहरी भन्छन्, 'सोही अनुसारको तयारी गरिसकेपछि पनि होइन भन्ने जानकारी आएपछि सुरुमा काभ्रे प्रहरी पछि हटेको थियो।'
काभ्रे प्रहरीलाई महाशाखाकाे टोली सोधपुछमा गएको छ भन्ने मात्र खबर रहेकाे उनले बताए। आफ्नो केही 'मिसन'मा महाशाखाकाे टाेली आएको होला भनेर काभ्रेकाे स्थानीय टोलीले उक्त घटनालाई त्यत्ति ध्यान नदिएको बताए। 'पछि जोइन्ट अपरेसन गर्ने भन्ने तयारीमा थियाे काभ्रे प्रहरी', उनले भने।
मंगलबार साँझ रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु-२, काफलडाँडा भन्ने ठाउँमा झडप भएकाे हो। घटनास्थल फलामेसाँघुस्थित प्रहरी चौकीबाट मोटरसाइकलमा करिब एक घन्टामा पुग्न सकिन्छ।
'२० जना भन्दा बढीको एउटा समूह आएको भन्ने बुझिएपनि सुरुमा कहाँबाट आयो किन आयो भन्नेसमेत काफलडाँडा प्रहरी चौकीले पत्ता लगाउन सकेको थिएन', फलामेसाँघुस्थित प्रहरी चौकीका एक अधिकारी भने, 'यसबारे हामीले स्थानीयसँग पनि सोधपुछ गर्यौं। तर, थप केही नयाँ जानकारी आएन।'
विप्लव समूहले गतिविधि गर्दै आएकाे काफल डाँडामाथि महाभारत पर्वत पर्छ। साे स्थान विकट रहेकाे पनि बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।