काठमाडौं– डा गोविन्द केसीसहित चार जनाले दश वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराध, मानवता विरुद्धको अपराध लगायतका अन्य जघन्य वा गम्भीर अपराधका घटनाका दोषीलाई कारबाहीको माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
मंगलबार बुझाइएको ज्ञापनपत्रमा डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरि तिमल्सिनाले हस्ताक्षर गरेका छन्।
'श्रृखलाबद्ध मानवता विरोधी अत्याचार र त्यसबाट पीडित भएका व्यक्तिका पीडाको साक्षी हामी पनि हौं। आफ्नो देश, समाज र छरछिमेकमा भएका मानवता विरोधी अत्याचारबाट पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोधनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्षकै रजगज झन घनीभूत हुँदै गएको स्थितिले हामीले अत्यन्तै चिन्तित बनाएको छ। यस स्थितिमा सक्रिय नागरिकको रुपमा देश, समाज, पीडित तथा समग्र मानव समुदायप्रति कर्तव्यबोध सहित गम्भीर ध्यानाकर्षण गर्दछौं', ज्ञापन पत्रमा भनिएको छ।
ज्ञापनपत्रमा युद्ध अपराध, मानवता विरुद्धको अपराध, व्यक्ति हत्या, बलपूर्वक बेपत्ता, अपहरण, यातना, अंगभंग, यौनजन्य हिंसा लगायतका जघन्य अपराधको फौजदारी दायित्वबाट उन्मुक्ति सम्भव छैन भन्ने कुरा स्थापित गर्नुपर्ने भनिएको छ।
'मानवता विरुद्धको अत्याचारहरु भविष्यमा दोहोरिन नदिनका लागि दोषीलाई सकेसम्म देशभित्रै कानुनी कारबाहीको दायरामा ल्याउनुपर्दछ र अपराधको गम्भीरताका आधारमा सजायको भागी बनाउनुपर्दछ', ज्ञापनपत्रमा भनिएको छ।
यस्तो छ ज्ञापनपत्र


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।