काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा यातना दिएको आरोप लागेका पूर्व एसपी दिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘सञ्चार माध्यममार्फत अदालत उपस्थित हुनुपर्ने भन्ने खालको सूचना पाएर अदालतमा उपस्थित भएको हुुँ।’
गत साउन १० गते बालिका पन्तको बलात्कारपछि हत्या भएका बेला विष्ट कञ्चनुर प्रहरी प्रमुख थिए। हत्या भएपछि प्रहरीले अनुसन्धानमा लापरबाही गरेर प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको भन्दै पीडित पक्षले उनीलगायत अनुसन्धानमा संलग्न अन्य प्रहरीविरुद्ध उजुरी दिएका थिए।
लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एसपी विष्टलाई सेवाबाट समेत हटाएको थियो।
पीडितको उजुरीको आधारमा बयानका लागि बोलाएपछि विष्ट अदालतमा हाजिर भएका हुन्। सिआइबीका डिएसपी अंगुर जिसी भने अदालतमा हाजिर भएका छैनन्।
अन्य प्रहरी अधिकारीहरु भने यसअघि नै अदालतमा हाजिर भएर सामान्य धरौटीमा रिहा भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।