काठमाडौं– महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशर न्यौपानेमाथि रड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।
इन्सपेक्टर न्यौपानेमाथि ज्यान मार्ने हिसाबले टाउकोमा रड प्रहार भएको थियो। रड प्रहार गर्ने मध्येका एक ललितपुर मंगलबजारका दशलाल महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।
महर्जनले प्रहार गरेको रडबाट घाइते भएका इन्सपेक्टर न्यौपानेको टाउकोमा ८ वटा टाँका लगाउनु परेको थियो।
ज्यानै मार्ने हिसाबले बर्दीका प्रहरीमाथि आक्रमण गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले भने सामान्य अपराध भन्दै सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको छ। ज्यानै मार्ने हिसाबले बर्दीका प्रहरीमाथि आक्रमण गर्नेलाई कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गर्नुपर्ने हुन्छ।
यसबारे महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकसँग बुझ्दा उनले अहिले सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको स्वीकार गर्दै भने, ‘अहिले सार्वजनिक अपराधमै मुद्दा चलाएका छौं। थप अनुसन्धान हुँदैछ। अहिलेनै केही भन्न सक्ने अवस्था छैन।’
यस्तो थियो घटना
गत फागुन १८ गते साँझ मंगलबजारमा ट्राफिक प्रहरीको जाँचका क्रममा मंगलबजारकै दशलाल महर्जन र सनिस अवाले परे। उनीहरुले मादक पदार्थ सेवन गरी सवारी चलाएकाे पुष्टि भएपछि ट्राफिकले चिट काट्न लाग्यो। सोही विषयमा उनीहरुबीच विवाद भएको थियो।
ट्राफिकसँग विवाद भएपछि इन्सपेक्टर न्यौपाने घटनास्थल पुगेका थिए। सोही क्रममा उनीहरुले इन्सपेक्टर न्यौपानेमाथि नै रड प्रहार गरेर फरार भएका थिए।
आक्रमणमा संलग्न दशलाल पक्राउ परे पनि सनिस भने अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।