ग्रिन टी पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेयमा पर्छ । यद्यपि विश्वमा कालो चिया ७८ प्रतिशत उपभोग गरिन्छ भने २० प्रतिशत ग्रिन टी उपभोग गरिन्छ । हर्बल चियाबाहेक सबै खालका चियापत्ती सुकाएर बनाउने गरिन्छ । पत्तीको अक्सिडेसन तहबाट कस्तो प्रकारको चिया बनाउने भन्ने विषय निर्धारण गरिन्छ । ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन् ।
ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरिन्छ । पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मका लागि पनि सकारात्मक असर पर्ने पुष्टि गरेका छन् ।
चिनी नहालिएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ । यसमा क्याफिनको मात्र निकै थोरै हुन्छ, उदाहरणका लागि एक कप ब्ल्याक टीमा क्याफिनको मात्रा ५० मिलिग्राम हुन्छ, कफीमा ९५ मिलिग्राम हुन्छ भने ग्रिन टीमा २० देखि ४५ मिलिग्राम मात्र हुन्छ । ग्रिन टी संभवतः विश्वमै सबैभन्दा स्वस्थ पेय मानिन्छ जसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छन् । यसमा पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुन्छन् जसमा क्यान्सर तथा जलन निवारण गर्ने क्षमता हुन्छ ।
क्यान्सर रोक्छ
नेशनल क्यान्सर इन्सिच्युटका अनुसार ग्रिन टीमा पाइने पोलिफेनलले ट्युमर घटाउन मद्दत गर्छ र पराबैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ । ग्रिन टी उपभोग बढी हुने देशमा क्यान्सरको दर पनि कम भएको पाइएको छ । तर, क्यान्सर घट्ने कारण ग्रिन टी नै हो कि त्यहाँका मानिसको जीवनशैली हो भन्ने बारेमा पनि अझैं पनि स्पष्ट भैसकेको छैन । अध्ययनहरुमा ग्रिन टी उपभोग नगर्नेभन्दा गर्नेमा प्याङक्रियाटिक क्यान्सर हुने सम्भावना ५० प्रतिशत कम भएको पत्ता लागेको थियो । ग्रिन टीले महिलाहरुको स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा सकारात्मक प्रभाव पारेको पाइएको थियो । अनुसन्धानकर्ताहरुले के विश्वास गरेका छन् भने ग्रिन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सरयुक्त कोषिकाहरु मार्न सहयोग पु¥याइ बढ्नबाट बचाउँछ ।
मुटुलाई पनि फाइदाजनक
सन् २००६ मा अमेरिकन मेडिकल एशोसियसनको जर्नलमा प्रकाशित अनुसन्धानमा निष्कर्ष निकालिएको छ– ग्रिन टीको उपभोग मुटुजन्य रोगबाट हुने मृत्युदरलाई कम गर्नेसंग संबन्धित छ । यो अध्ययनका क्रममा ४० देखि ७९ वर्षबीचका ४० हजार जापानीलाई ११ वर्षसम्म अध्ययन गरिएको थियो । दैनिक ५ कपसम्म ग्रिन टी खाने मानिसलाई तुलनात्मक रुपमा मुटुसंबन्धी रोग कम लागेको पाइएको थियो । यस्तै, अर्को अध्ययनमा दैनिक १० कपसम्म ग्रिन टी खानेमा कोलेस्टेरोल कम भएको पाइएको थियो, तर, दैनिक ४ कप वा सोभन्दा कम खानेमा कोलेस्टेरोल लेबलमा कुनै परिवर्तन आएको थिएन ।
टाइप टु डायबेटिज रोक्छ
अध्ययनहरुले ग्रिन टी सेवन गर्नाले टाइप टु डायबेटिज हुने सम्भावना कम रहेको पाइएको छ । तर, केही अनुसन्धानकर्ताले भने ग्रिन टी उपभोग र डायबेटिजमा कुनै संबन्ध नरहेको दाबी गरेका छन् ।
तौल घटाउन लाभकारी
केही अध्ययनमा ग्रिन टीको कारणले तौल घटेको पाइएको थियो, तर, तौल घटाउन ग्रिन टी नै लाभकारी हुने कुरा भने महत्वपूर्ण नभएको केही अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अर्का अध्ययनहरुले ग्रिन टीले दाँतको सडन, छालाको समस्या, आर्थराइटिसजस्ता समस्या समाधान गर्ने पत्ता लागेको छ ।
पछिल्लोपटक जर्नल अफ द अमेरिकन हार्ट एशोसियसनमा नियमित ग्रिन टी उपभोग गर्नाले स्ट्रोकको खतरा कम हुने उल्लेख गरिएको छ । यस्तै, बेलायती अनुसन्धानकर्ताहरुले ग्रिन टीले प्रोस्टेट क्यान्सरविरुद्ध लड्न मद्दत पु¥याउने उल्लेख गरेका छन् । उनीहरुले ग्रिन टीसंगै ब्रोकाउली, बेसार तथा अनारले क्यान्सरविरुद्ध लड्न मद्दत पु¥याउने बताएका छन् ।
कस्ताले ग्रिन टी सेवन गर्नुहुँदैंन
निद्राको समस्या भएका, चिन्ताग्रस्त, अरुची, पेटको गडबडी भएका, उत्तेजक औषधि लिएका, मुटुको समस्या, उच्च रक्तचाप भएका, मुटु तथा मृगौलाको समस्या भएका, पेटको अल्सर भएका तथा दुध चुसाई रहेका महिलाहरुले ग्रिन टी सेवन गर्नु हुँदैंन । उत्तेजक औषधि लिइरहेकाहरुले ग्रिन टी सेवन गर्दा रक्तचाप र मुटुको चाल बढ्न सक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।