काठमाडौं- नेपाली कांग्रेसमा अनुशासन समिति गठन गर्ने सहमति जुटेको छ। समितिका निर्णय सर्वसहमतिबाट मात्र गर्ने बाध्यकारी शर्तसहित समिति गठन गरिएको हो। समितिको संयोजकमा भीष्म आङदेम्बे रहने सहमति जुटेको हो।
समितिको सदस्यहरुमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहने छन्। सो समितिमा रहने बाँकी २ जना सदस्य संस्थापन इतर समूहबाट चयन हुनेछन्। संस्थापन इतर समूहले २ जनाको नाम पेस गरेको छैन।
समितिमा संयोजकसहित ५ जना सदस्य रहने व्यवस्था पार्टीको विधानमा छ।
अनुशासन समितिले गर्ने निर्णय बहुमत र अल्पमतमा आधारमा नभई सबैको सहमतिबाट मात्र गर्नुपर्ने बाध्यकारी सर्तसहित आङ्देम्बेको संयोजकत्वमा समिति गठन गरिएको हो।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सर्वसहमतिमा मात्र समितिले निर्णय गर्न पाउने अडानका कारण लामो प्रयास गर्दा समेत समिति गठन हुन सकेको थिएन।
पौडेलको सो अडान बमोजिम नै सहमति गरिएको सह-महामन्त्री डा प्रकाशशरण महतले नेपाल लाइभलाई बताए।
आइतबार सभापति शेरबहादुर दउवाले सहमतिको प्रयासका लागि बुढानीलकण्ठस्थित निवासमा नै शीर्ष नेताको बैठक बोलाएका थिए। बैठक सोमबार पनि दिनभर लम्बिएको थियो।
यसअघि नै सोमबारका लागि तय भएको केन्द्रीय समितिको बैठक पनि संस्थापन इतर समूहको सोही अडानका कारण बस्न सकेको थिएन।
सहमतिका लागि सोमबार पटक पटक प्रयास भएको थियो।
बिहान ११ बजेदेखि बसेको शीर्ष तहका नेताको बैठकले साँझ ७:४५ बजेमात्र सो शर्तसहित समितिको नेतृत्वमा आङ्देम्बेको नाम तय गरेको हो।
तर विधानमा सर्वसहमतिमा गर्नैपर्ने व्यवस्था नभएपनि सहमतिका लागि पौडेलको अडान स्वीकार गरिएको सहमहामन्त्री डा महतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।