काठमाडौं- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मधेश आन्दोलनको न्यायिक छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने स्पष्ट पारेका छन्।
आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले संघीय संसद बैठक समेत अवरुद्ध पार्दै आईरहेका बेला उपप्रधानमन्त्री पोखरेलले अध्ययन गरेर मात्रै सो प्रतिवेदन सार्वजनिक गर्ने प्रष्ट्याएका हुन्।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री पोखरेलले भने, 'सरकारले गठन गरेका आयोगको प्रतिवेदन सार्वजनिक हुने तथा सो प्रतिवेदन भने राम्ररी अध्ययन गरेर मात्रै सार्वजनिक गर्नेछ।'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय जनता पार्टी, नेपालले सोही माग राखेर अब संघीय संसद बैठक अवरुद्ध नपार्ने दाबी समेत गरेका थिए।
मधेश तथा थरुहट आन्दोलनको सम्पूर्ण घटनाबारे छानबिन गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नतृत्वको न्यायिक छानबिन आयोग गठन गरेको थियो।
आयोगले सरकारलाई २०७४ साल माघ २९ गते प्रतिवेदन बुझाएपनि सरकारले हालसम्म सार्वजनिक नगरेकोमा राष्ट्रिय जनता पार्टी, नेपालको आपत्ति छ।
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि अवरुद्ध पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।