काठमाडौं- सरकारसँग ११ बुँदे सहमति गरी मधेस विखण्डनको माग छाडेका सिके राउतले जनमत पार्टी गठन गरेका छन्। सिरहाको लाहनमा बसेको केन्द्रीय परिषद्को बैठकले पार्टी गठनको निर्णय गरेको हो।
बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति पनि गठन गरेको सिके राउतको फेसबुक पेजमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच गत फागुन २४ गते भएको ११-बुँदे सहमतिलाई ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व उपलब्धि भएको भन्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ।
जनमत पार्टीको झन्डामा रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने पनि परिषद्ले निर्णय गरेको छ। पार्टीको लोगोको रुपमा अष्टदलको छेउमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहनेछ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ।
पार्टीको चुनावचिह्नमा 'अष्टदल'लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।
भेलाले पार्टीको लागि ३५-सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रीय कार्यकारिणी समितिलाई विस्तार गरिने र केन्द्रीय समितिमा थप सदस्य मनोनीत गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।
यस्तै बैठकले ११-बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेस गठबन्धनका समर्थकमाथि लगाइएका मुद्दा फिर्ता लिन पहल गर्ने निर्णय गर्दै चन्दन सिंहको संयोजकत्वमा ३-सदस्यीय सहमति कार्यान्वयन समिति निर्माण गरिएको छ। 'जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र नि:स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ,' विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।