काठमाडौं- आज बिहान ११ बजे बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक हालसम्म सुरु हुन सकेको छैन।
यस अघिदेखि नै असन्तुष्टि जनाउँदै आएको संस्थापन इतर समूहका नेताका कारण बैठक सुरु हुन नसकेको हो। संस्थापन र इतर समूहका नेताहरु आन्तरिक छलफलका लागि यतिबाेला सभापति शेरबहादुर देउवाको कार्य कक्षमा छलफलमा जुटेका छन्।
अनुशासन र निर्वाचन समिति गठनको लागि बोलाइएको बैठकमा इतर समूहले पूर्व छलफल गरी सहमति भएपछि मात्रै बैठक गर्न अडान राखेको छ।
दुवै समिति न्यायिक समिति भएकोले व्यक्तिभन्दा पद्धतिमा जोड दिन इतर समूहले माग गर्दै आएको छ।
पाँच सदस्यीय अनुशासन समितिमा दुई सदस्य वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षलाई दिएर अनुशासन समिति बनाउने तयारीमा देउवा छन्।
पूर्व सहमतिका लागि देउवा, पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला लगायतका नेताहरु छलफलमा जुटेका छन्। यसअघि आइतबार देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
१४ फागुनमा बोलाइएको बैठक पनि इतर समूहले बहिस्कार गरेपछि बस्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।