देहरादुन– अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित हात पारेको छ। पहिलो टेस्ट जितेर इतिहास बनाउने क्रममा अफगानिस्तानले सोमबार भारतको देहरादुनमा सम्पन्न टेस्टमा आयरल्यान्डमाथि ७ विकेटको जित हात पारेको हो।
आयरल्याल्यान्डले दिएको १ सय ४७ रनको लक्ष्य चौथो दिन पूरा गर्दै अफगानिस्तानले टेस्टमा पहिलो जित हात पारेको हो। दोस्रो इनिङमा अफगानिस्तानका लागि इहसानुल्लाहले नटआउट ६५ रन जोडे। यस्ते रहमत साहले ७६ रनको योगदान गरे।
त्यसअघि अफगानिस्तानले पहिलो इनिङमा ३ सय १४ रन जोडेको थियो। आयरल्यान्ड पहिलो इनिङमा १ सय ७२ र दोस्रो इनिङमा २ सय ८८ रनमा समेटिएको थियो। आयरल्यान्डको इनिङलाई धरासायी बनाउने क्रममा अफगानिस्तानका रासिद खानले दुवै इनिङमा गरी ७ विकेट लिए। उनले पहिलो इनिङमा २ विकेट र दोस्रो इनिङमा ५ विकेट लिएका थिए।
पहिलो इनिङमा ९८ रन र दोस्रो इनिङमा ७६ रन जोडेका अफगानिस्तानका रहमद साह म्यान अफ दि म्याच घोषित भए।
दुवै टिमले दोस्रो टेस्ट सिरिज खेलेका हुन्। यसअघि आयरल्यान्डले पाकिस्तान र अफगानिस्तानले भारतसँग टेस्ट खेलेका थिए। जहाँ पाकिस्तान र भारत विजयी भएका थिए।
टेस्ट डेब्यू खेलमा जित हात पार्ने टिम एक्लो टिम अस्ट्रेलिया हो। अफगानिस्तासहित पाकिस्तान र इंग्ल्यान्डले आफूले खेलेको दोस्रो खेलमा जित हात पारे। यस्तै टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले छैटौं, जिम्बावेले एघारौं, दक्षिण अफ्रिकाले १२औं, श्रीलंकाले १४औं, भारतले २५औं, बंगलादेशले ३५औं र न्युजिल्यान्डले ४५औं खेलमा जित हात पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।