बार्सा– स्टार स्ट्राइकर लियोनल मेसीको ह्याट्रिकको मदतले बार्सिलोनाले रियल बेटिसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। स्पेनिस लालिगा अन्तरगत गएराति भएको खेलमा मेसीले १८औं मिनेटमा पहिलो गोल गरेका थिए। २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो।
त्यस्तै पहिलो हाफको इन्जुरी समयमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। खेलको ६३औं मिनेटमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले डिबक्स एरिया भित्रैबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।

खेल सकिन ५ मिनेट मात्र बाँकि रहेको अवस्थामा मेसीले पुनः अर्को गोल गर्दै ह्याट्रिक गरेका थिए। लालिगामा उनको यो ३३औं ह्याट्रिक थियो।
उता रियल बेटिसको तर्फबाट एक मात्र सान्त्वना गोल ८२औं मिनेटमा लोरेन मोरोनले गरेका थिए।
खेलबाट स्पष्ट ३ अंक बटुलेको बार्साले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको अंकदूरी १० पुर्याएको छ। शिर्ष स्थानमा रहेको बार्साको ६६ अंक छ भने एथ्लेटिको मड्रिडको ५६ तथा रियल मड्रिडकाे ५४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।