विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि साेमबार आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताएका हुन्।
उनले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई वर्तमान सरकारले पूरा गर्ने बताए। प्रधानमन्त्री ओलीले जनताको परिवर्तनको अनुभूतिलगायत विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गरी मुलुकमा सुशासन कायम गर्ने विश्वास दिलाए।
कार्यक्रममा वर्जु ताललाई प्रदेश नम्बर १ को पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताउँदै उनले आगामी जेठ १५ गते अगाडि गुरुयोजना तयार गरी बजेट विनियोजन गर्ने बताए।
प्रधानमन्त्री ओलीले वर्जु तालसम्म पुग्ने सडक निर्माण गर्ने र ताल क्षेत्रमा हरियाली बनाई मनोरञ्जन स्थलका रूपमा विकास गरिने बताए। प्रदेशकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न आफूले सहयोग गर्ने उनकाे भनाइ थियाे। तालको वरिपरि रहेको ५१ बिघा जग्गा अधिग्रहण गरी प्रदेशको रमणीयस्थलको विकास गरी स्थानीय जनताको आर्थिक उन्नतिमा ताल सघाउ पुग्ने उनको विश्वास थियो।
उक्त ताल विराटनगर महानगरपालिकाबाट १२ किलोमिटर पश्चिम सुनसरी जिल्लाको वर्जु गाउँपालिका–६ चिमडीमा अवस्थित रहेको छ।
यस्तै प्रधानमन्त्री ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन्।
नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस भन्ने शुभकामना समेत दिए।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई बहुमत दिएको हुनाले यो सरकार नै जनसरकार रहेकाे दाबी गरे। 'ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो', प्रधानमन्त्री ओलीले भने, 'कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ।'
आधुनिक देश, आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उनले निर्देशन दिए। उनले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढि दिन सल्लाह दिए।
प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा बढी मतसहितको सरकार बनाउने दाबी गरे। 'नेकपा वैचारिक हिसाबले स्पष्ट छ', प्रधानमन्त्रीले भने, 'हरेक राष्ट्रिय मुद्धामा हाम्रो मत स्पष्ट छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।