नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगरसभाले उपमहानगर क्षेत्रलाई प्लाष्टिकमुक्त घोषणा गर्नका लागि आवश्यक कार्यविधि बनाउनेलगायतका महत्वपूर्ण निर्णय गरेको छ।
'नगरसभामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४' को दफा २० र २१ बमोजिम 'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७५', 'फोहरमैला व्यवस्थापन विधेयक, २०७५' लगायतका प्रस्तावमाथि व्यापक छलफल भएको थियो।
आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन र आव २०७४/७५ को मौज्दात बजेटमध्ये सम्बन्धित वडा कार्यालयबाट विभिन्न शीर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटमाथि थप छलफल गरी एक हप्तापछि पुनः बस्ने सभाबाट स्वीकृत गर्ने तयारी गरिएको छ।
सभामा उपमहानगरपालिकाअन्तर्गत सुशासन समिति, विधायन समिति र लेखा समिति नियमावली बनाउने प्रस्ताव पनि पेस भएको छ। यस्तै सभा बैठकमा नगरको ट्राफिक, अटोरिक्सा, ठेला व्यवस्थापनलगायतका विषयले पनि प्रवेश पाएको छ भने यी विषयमा थप छलफल गरी आगामी सभाबाट स्वीकृत गरिने भएको छ।
आफ्नो वडा कार्यालय भवन नभएका वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति कार्यालयसँग रकम माग गर्ने प्रस्ताव पनि छलफलमा ल्याइएको छ। छलफलका विषयले उपमहानगरपालिकाको समग्र विकास र काममा सहजता ल्याउने नगरप्रमुख डा धवलशम्शेर राणाले विश्वास व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।