काठमाडौं- संयुक्त राष्ट्रसंघको दोस्रो उच्च स्तरीय सम्मेलन ‘दक्षिण–दक्षिण सहकार्य’मा भाग लिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भोलि अर्जेन्टिना प्रस्थान गर्ने भएका छन्।
चैत ६ गतेदेखि ८ गतेसम्म अर्जेन्टिनामा हुने उक्त सम्मेलनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका अधिकारीसहित सम्मेलनमा भाग लिन लागेका मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहकार्यको भूमिका तथा दिगो विकासका लागि सन् २०३० का एजेन्डा कार्यन्वयन, यसका चुनौती र अवसरबारे नेपालको तर्फबाट राष्ट्रिय वक्तव्य दिने छन्।
त्यस्तै उनले दक्षिण–दक्षिण क्षेत्रको खुलापन, अल्प विकसित, भूपरिवेष्टित, विकासशील तथा साना विकाशील टापु राज्यमा दिगो विकासको बढोत्तरीका लागि सहकार्यका विषयमा आयोजना गरिने छलफलमा पनि भाग लिनेछन्।
मन्त्री ज्ञवालीले अर्जेन्टिनाका विदेशमन्त्रीले चैत ७ गते आयोजना गर्ने एसियाली मुलुकहरुबीचको उच्चस्तरीय संवादमा पनि भाग लिने बताइएको छ। त्यस्तै उनले सम्मेलनको साइडलाइनमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भेटघाट समेत गर्नेछन्।
सम्मेलन सकेर मन्त्री ज्ञवाली ९ गते नेपाल फर्कनेछन्।
के हो ‘दक्षिण–दक्षिण सहकार्य’ सम्मेलन?
विभिन्न महादेशका दक्षिणी भेगका मुलुहरुबीच व्यापार प्रवर्द्धन तथा ती देशका विभिन्न निकायबीच सहकार्य बढाउन संयुक्त राष्ट्रसंघद्वारा सन् १९७८ मा स्थापित ईकाइ हो।
सन् १९५५ मा इन्डोनेसियाको बाङ्डुङमा एसियाली–अफ्रिकी सम्मेलन भएको थियो। जसलाई बाङ्डुङ सम्मेलन समेत भनिन्छ। पछि संयुक्त राष्ट्रसंघको पहलमा यसलाई ‘दक्षिण–दक्षिण सहकार्य’का रुपमा विस्तार गरिएको थियो।
दिगो विकासका लक्ष्य प्राप्त गर्न यो सम्मेलनमार्फत् विकाशील मुलुकले ज्ञान, सिप, अनुभव र स्रोत एकअर्काबीच साटासाट गर्ने उदेश्य राखिएको छ।
यसले बहुपक्षीय सम्झौताहरुमा विकाशील मुलुकको आवाज बलियो बनाउने ठानिन्छ।
राजनीति, सुरक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा समेत यस आवद्ध देशले सहकार्य गर्ने उदेश्य राखेका छन्।
त्यस्तै दक्षिण–दक्षिण सहकार्यले विकसित देशका सहयोग कार्यक्रममाथिको निर्भरतालाई घटाएको र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा समेत फेरबदल ल्याएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।