जनकपुरधाम- मधेश राजनीतिमा स्थापित स्व.गजेन्द्र नारायणसिंहको नेपाल सद्भावना पार्टीको पुनर्गठन भएको छ।
पुनर्गठन भएको पार्टीमा प्राध्यापक राजेन्द्रप्रसाद सिंहको नेतृत्वमा ४५ सदस्यीय राष्ट्रिय कार्य समिति चयन गरिएको छ।
पार्टीको जनकपुरधाममा बसेको दुई दिने विस्तारित बैठक सकिएलगत्तै आयोजित पत्रकार सम्मेलन मार्फत पार्टी पुनर्गठनको घोषणा गरिएको छ।
अध्यक्ष प्रा राजेन्द्रप्रसाद सिंहले स्व.गजेन्द्र नारायण सिंहले समतामूलक समाज निर्माणका लागि गरेका अठोटहरु मधेशको नाममा पार्टी खोलेकाहरुले बेचेकोले नेपाल सद्भावना पार्टीलाई पुनजिर्वित गर्नुपरेको बताए।
उनले पार्टीको मुख्य एजेन्डा समतामूलक समाजको स्थापना, संघीयता र हिन्दी भाषा सरकारी कामकाजको भाषाका रुपमा स्थापित गर्ने मूल एजेन्डा भएको बताए।
‘राज्यको हरेक निकायमा समान पहुँच, समानुपातिक समावेशी सहभागिताको ग्यारेन्टी, समान जनसंख्याको आधारमा प्रतिनिधित्वको ग्यारेन्टी, समग्र मधेश एक प्रदेश, सेनामा समुहगत प्रवेश र एक परिवार एक रोजगारीको अवधारणा लिएर पार्टी मुख्य रुपमा अघि बढेको छ,' उनले भने।
पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले उठाएका संघीयता, समावेशी, पहिचान, सेनामा मधेशी समुदायको पहुँच जस्ता विषयलाई मधेशवादी दलहरुले समेत सत्तालिप्सामा लागेर छाडेकाले र ती मुद्दा स्थापित गर्न पार्टी अघि बढ्ने अध्यक्ष सिंहको भनाई थियो।
उनले मधेशी बटालियनको व्यवस्था, विभेदकारी नीतिको समाप्ति, धार्मिक तथा सांस्कृतिक सुरक्षाको ग्यारेन्टी जस्ता विषयलाई लिएर आफुहरु सडक आन्दोलन गर्ने चेतावनी समेत दिए।
उनले मधेशी आदिवासी जनजाति, मुस्लिम, थारु, शोषित–पीडित तथा उपेक्षित समूदायलाई एकसुत्रमा बाँधेर मधेश आन्दोलनको प्रस्फुटन गर्ने समेत दाबी गरे।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठनअघि राजेन्द्र महतोको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, खुशीलाल यादव नेतृत्वको सद्भावना लोकतान्त्रिकजस्ता विभिन्न नाममा राजनीति हुँदै आएपनि राजपा नेपालको निर्माणसँगै प्रायः मधेशवादी दलहरु एकै ठाउँमा समाहित भएका थिए।
राजपाभित्र असन्तुष्टि चुलिँदै गएपछि त्यहाँभित्रबाट समेत पार्टी चोइटिन सुरु भएको थियो।
यसअघि राजपा नेपालबाट फुटेर रितेश सिंहको संयोजकत्वमा राजपा लोकतान्त्रिक पुनःर्गठन भएको थियो।
त्यसपछि अहिले नेपाल सदभावना पार्टी पुनर्गठन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।