काठमाडौं- राष्ट्रिय जनता पार्टीले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आइतबारको बैठक पनि अवरुद्ध गर्नुपरेको स्पष्ट पारेको छ।
सो पार्टीका नेता राजेन्द्र महतोले रेशम चौधरी अपराधी हुन् कि होइनन् भन्ने कुरा देश र जनतालाई थाहा दिन पनि आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संघीय संसद बैठक चल्न नदिने अडान लिएको बताए।
आइतबार संसदको बैठक स्थगित भएपछि सञ्चारकर्मीमाझ कुरा गर्दै महतोले मधेस आन्दोलन, थरुहट आन्दोलन राजनीतिक आन्दोलनको भएको बताए। सो आन्दोलनकारीमाथि राज्यले गरेको दमन पनि सार्वजनिक गर्नुपर्ने पार्टीको मान्यता रहेको दोहोर्याए।
महतोले आन्दोलनमा रहेका रेशम चौधरीलाई एक खालको व्यवहार र पुष्पकमल दाहाल, केपी ओलीलाई अर्को खालको व्यवहार राज्यले गर्न नहुने बताए।
सो पार्टीले यसअघि बुधबार पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो। तर, सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पुनः रुलिङ गरेपछि बैठक पुन सुचारु भएको थियो।
मधेस तथा थरुहट आन्दोलनको सम्पूर्ण घटनाबारे छानबिन गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक छानबिन आयोग गठन गरेको थियो।
आयोगले आफ्नो प्रतिवेदन देउवा नेतृत्वको सरकारलाई २०७४ साल माघ २९ गते बुझाए पनि हालसम्म पनि सार्वजनिक नगरेकोमा राष्ट्रिय जनता पार्टी, नेपालको आपत्ति छ।
नेता महतोले सो प्रतिवेदन सार्वजनिक गर्न सरकार किन डराएको भनी प्रश्न गरे।
यसैबीच, राजपाले अवरुद्ध पारेपछि सूचना टाँस गरी स्थगित गरिएको प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।