काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा व्यवस्था परिवर्तन, संविधान घोषणा तथा निर्वाचन गर्ने शक्तिहरु मिलेर अन्योलता र अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्ने बताए।
पत्नी सिता दाहालको उपचारको लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा उनले आफ्नो अमेरिका भ्रमणको मुख्य उद्देश्य पत्नी सीताको उपचार नै भएको प्रष्ट पारे।
अमेरिकामा पत्नी सीताको बिरामीसँग सम्बन्धित उपचारको राम्रो र पछिल्लो प्रविधिको विकास भएको भन्ने थाहा पाएको र पत्नी सीताले पनि एकपटक अमेरिका लगिदिए सन्चो हुन्थ्यो कि भनेर केही महिनादेखि भनेकाले अमेरिका प्रस्थान गर्नुपरेको प्रचण्डले बताए।
अमेरिकामा राजनितिक भेटघाट पनि हुनसक्ने उनले बताए।
'अमेरिकामा दुई देशको विषयमा कुरा हुने सम्भावना छ', उनले भने, 'तर, फिक्स कार्यक्रम भने छैन। तर परराष्ट्र मन्त्रालयको जानकारी अनुसार त्यहाँबाट औपचारिक पत्र पठाइसकिएको छ। त्यसले गर्दा औपचारिक र अनौपचारिक छलफल हुने सम्भावना बढेको छ।'
उनले आफू हप्ता दशदिनमा स्वदेश फिर्ता हुने बताए।
नेपालमा सिस्टम नै परिवर्तन भएकाले थुप्रै नयाँ संरचना र ऐनहरु बनाउनुपरेको भन्दै प्रचण्डले त्यसैकारण जनताबाट तिब्र विकास नभएको गुनासो सुनिएको बताए। 'गएको वर्ष सरकार र पार्टीले जेजे पूर्वाधार बनायो, अबको वर्षमा विकासले गति लिन्छ भन्नेमा हाम्रो विश्वास छ', उनले भने।
प्रचण्ड, उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गरेको हो।
अमेरिकाको जोन हकिङ्स् अस्पतालमा सीता दाहालको 'पिएसपी' रोगको उपचार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।