काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैली प्रति असन्तुष्ट बन्दै आएको पक्षलाई मनाउन देउवाले बैठक बोलाएका छन्। सभापति देउवाप्रति असन्तुष्ट बनेका नेताहरुले सोमबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि उनले बैठक बोलाएका हुन्। देउवा निवासमा बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीको बैठक बोलाइएको छ।
अनुशासन र निर्वाचन समिति गठन गर्ने प्रक्रियामा देउवा लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह उनको कार्यशैलीप्रति असन्तुष्ट छन्।
फागुन १४ मा संस्थापन इतर समूहका नेताले बैठक बहिष्कार गरेपछि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन। त्यसअघि महासमितिको निर्णयविपरीत विधानलाई केन्द्रीय समितिको बहुमतबाट पारित गरेपछि दर्जन बढी नेताले लिखित असहमति पेस गरेका थिए।
संस्थापन समूहले बिना छलफल एकलौटी तरिकाले पार्टी सञ्चालन गरेको भन्दै इतर समूहका नेताहरु दुई साताअघि सामूहिक छलफलमा जुटेका थिए। नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकले संस्थापन पक्षले एकतर्फी निर्णय गरेको भन्दै केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने तयारी गरेका छन्। खाली रहेका समितिलाई पूर्णता दिनुअघि छलफल हुनुपर्ने संस्थापन इतर समूहको जोड छ।
बैठकका लागि वरिष्ठ नेता वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि सहमहामन्त्री डा प्रकाशशरण महतसहित नेताहरु कृष्ण प्रसाद सिटौला,प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताहरु सहभागी भएका छन्।
उपसभापति विजयकुमार गच्छदार र महामन्त्री डा शशांक कोइराला संसद् बैठकमा भएकाले नपुगेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।