काठमाडौं– हङकङमा भएको तेस्रो एसियालि युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले ऐतिहासिक स्वर्ण जितेका छन्। नेपालले युथ एसियाली खेलकुदमा स्वर्ण जितेको यो पहिलो पटक हो।
आइतबार हङकङमा भएको ३ हजार मिटरको प्रतिस्पर्धामा उनले स्वर्ण जितेका हुन्। अजितले निर्धारित दूरी ८ मिनेट ३०:३२ सेकेन्डमा पार गरेर स्वर्ण जितेका हुन्।
उनले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पारे। अमितलाई नेपालका अजितले ६ सेकेन्डले पछि पारेका थिए। अमितले निर्धारित दूरी ८ मिनेट ३६:३४ सेकेन्डमा पार गर्दै रजत पदक हात पारे। यस्तै यमनका हमातीले ८ मिनेट ३८:६० सेकेन्डमा निर्धारित दूरी पार गरेर कास्य हात पारे।
अजितले स्वर्णसँगै व्यक्तिगत प्रदर्शन पनि सुधार गरेका छन्। यसअघि उनको व्यक्तिग राम्रो प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको थियो।
प्रतियोगितमा प्रशिक्षकको भूमिकामा धनीराम चौधरी छन्। चौधरी र यादव शुक्रबार हङकङ गएका थिए।
एसियाली युथ एथलेटिक्समा ४० एभेन्टसमा प्रतिस्पर्धा भएको छ। जहाँ १९ देशले पदक जितेका छन्। सवैभन्दा बढी चीनले १२ स्वर्ण जितेको छ। भारतले ८, जपानले ६, चाइनिज ताइपेइले ३, काजकिस्तान र इरानले २–२ स्वर्ण जितेका छन्। नेपालसहित ७ देशले १–१ स्वर्ण जितेका छन्। जसमा नेपाल, दक्षिण कोरिया, हङकङ, सिंगापुर, मलेसिया, साउदी अरेबिया र थाइल्यान्ड छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।