काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले शनिबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–० गोलले पराजित गरेर समूह विजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो। पराजयसँगै बंगलादेश समूह उपविजेतामा सीमित बनेको छ।
शनिबार नेपालले खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो। बंगलादेशकी मासुरा प्रभिनले आफ्नै पोस्टमा गोल गरेपछि नेपालले अग्रता लिएको थियो। २३ मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारिन्। उनको यो २४औं अन्तर्राष्ट्रिय गोल हो।
२८ मिनेटका नेपालले तेस्रो गोल गर्यो। यसपटक सावित्राको पासमा मन्जली कुमारी योन्जनले नेपालका लागि तेस्रो गोल गरिन्। दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन्।
नेपालले अघिल्लो खेलमा भुटानमाथि ३–० को जित निकालेको थियो। यस्तै बंगलादेशले पनि भुटानमाथि २–० को जित निकालेको थियो। त्यससँगै भुटान बाहिरिएको थियो भने नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनलमा पुगेका थिए।
अब नेपालले सेमिफाइनलमा आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ। भोलि हुने समूह 'बी' को अन्तिम खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। सो खेलपछि समूह 'बी' को विजेता र उपविजेता टुंगो लाग्नेछ। नेपालले समूह 'बी'को उपविजेतासँग बुधबार दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।