काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को विजेताका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको सहिद रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफ सकिदा ३–० को अग्रता लिएको छ।
खेलको छैटौं मिनेटमा बंगलादेशकी मासुरा प्रभिनले आफ्नै पोस्टमा गोल गरेपछि नेपालले अग्रता लिएको थियो। २३ मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारिन्। उनको यो २४औं अन्तर्राष्ट्रिय गोल हो। २८ मिनेटका नेपालले तेस्रो गोल गर्यो। यसपटक सावित्राको पासमा मन्जली कुमारी योन्जनले नेपालका लागि तेस्रो गोल गरिन्।
अघिल्लो खेलमा भुटानमाथि ३–० को जित निकालेको थियो। यस्तै बंगलादेशले पनि भुटानमाथि २–० को जित निकालेको थियो। त्यससँगै भुटान बाहिरिएको थियो भने नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका थिए।
खेल बराबरीमा सकिए पनि नेपाल गोलअन्तरको आधारमा समूह विजेता बन्नेछ।
यसअघि साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच दुई पटक भिडन्त भएको छ। सन् २०१० को पहिलो संस्करणको सेमिफाइनलमा नेपालले आयोजक बंगलादेशमाथि ३–०को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै सन् २०१४ मा पनि नेपाल र बंगलादेशबीच सेमिफाइनलमै प्रतिस्पर्धा भएको थियो। सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेर नेपाल लगातार तेस्रो पटक फाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।