काठमाडौं– सिके राउतसँगको ११ बुँदे सहमतिमा उल्लिखित जनअभिमत शब्दलाई सरकारले आवधिक चुनावको रुपमा व्याख्या गरेको छ।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जनअभिमत भनेको चुनाव नै भएको बताएका हुन्। 'जनअभिमत भनेको लोकतन्त्रमा के हुन्छ? निर्वाचन नै हो', उनले भने, 'त्यसमार्फत जनताले प्रकट गर्ने मत नै जनअभिमत हो।'
उनले किटान गरिएका विषयहरु मात्रै जनमत संग्रह हुन सक्ने प्रष्ट पारे। 'सम्झौतामा जनमत संग्रहको कुरा छैन', उनले भने।
उनले राउतका कार्यकर्ताको जारी गतिविधिलाई खहरेको संज्ञा पनि दिए।
'लेकमा पानी पर्छ। त्यसपछि खोला गड्गडाउँछ। लेकमा पानी पर्न रोकिइसक्दा पनि तर बाढीको लेभल घटिसकेको हुँदैन। तर तल बस्नेहरुलाई भ्रम परिरहेको हुन्छ– बाढी अझै ठूलो आइरहेको छ। तर उसले आँखा चिहाएर क्षितिजतिर हेर्नुपर्छ कि पानी पर्दैछ वा रोकियो। पानीको स्रोतमा बाढी निर्भर हुन्छ। सिके राउतले नै ११ बुँदे सहमति गरेर गइसकेपछि अभ्यस्त भइसकेका, बानी लागेका कार्यकर्तालाई त्यस्तै हो। कांग्रेसले अर्कोलाई जय नेपाल र कम्युनिस्टले लाल सलाम भनेजस्तै हो', उनले भने, 'त्यस्तै बानी लागेकाले झन्डा देखाएको होला। लेकको पानी नै घटेपछि खहरे आफैं ठेगानमा आउँछ। यसमा चिन्ता लिनुपर्ने कुरै भएन।'
उनले सिके राउतले संविधान स्वीकार गरेको बताए।
'फरक ढंगले हिँडिरहेको संस्थाले राष्ट्रिय एकता र अखण्डताप्रति प्रतिबद्ध छु भनेको छ', उनले भने, 'राष्ट्रियगान बज्दा सिके राउत पनि उठ्नुभयो। संविधान स्वीकार पनि त्यही हो। त्यही संविधानको परिभाषाभित्र जनअभिमत पनि पर्छ। त्यसैले यसलाई अर्को रुपमा व्याख्या गर्नुपर्ने कारण छैन।'
शब्दका नाममा उत्पात केही नभएको प्रवक्ता बास्कोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।