काठमाडौं- उडानमा विभिन्न देशले रोक लगाउनेक्रम बढेसँगै अमेरिकी विमान निर्माता कम्पनी बोइङले पनि आफ्ना '७३७ म्याक्स' मोडलका सम्पूर्ण विमानहरूकाे उडानमा रोक लगाएको छ।
यो निर्णयसँगै उक्त कम्पनीले निर्माण गरेका ३ सय ७१ वटा त्यस्ता विमानहरूले अर्को निर्णय नभएसम्म उडान गर्नेछैनन्। हालसम्म ५० देशले यस मोडलका विमान उडानमा रोक लगाइसकेका छन्।
विमान दुर्घटना भएको स्थान इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि अमेरिकी उड्डयन नियामक निकायले त्यस्तो निर्णय लिएको समाचार एजेन्सीहरुले जनाएका छन्।
भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट सङ्कलित पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन्। यसअघि अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो।
गत आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको सो विमान दुर्घटनामा चालक दलका ८ सदस्यसहित १ सय ५७ जनाको मृत्यु भएको थियो।
सोही मोडेलको विमान ५ महिनाअघि इन्डोनेसियामा दुर्घटना हुँदा १ सय ८९ जनाले ज्यान गुमाएका थिए। एजेन्सी
र याे पनि:
चीनपछि सिंगापुरले पनि लगायाे 'बोइङ-७३७ म्याक्स' उडानमा प्रतिबन्ध
भारतले पनि लगायो ‘बोइङ–७३७ म्याक्स’माथि प्रतिबन्ध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।