नयाँ दिल्ली– चीन, इथियोपिया, सिंगापुर, युरोपेली संघपछि भारतले पनि ‘बोइङ–७३७ म्याक्स’लाई उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
भारतको नागरिक उड्डयन मन्त्रालयले ‘बोइङ–७३७ म्याक्स’लाई तत्काल प्रतिबन्ध लगाउने घोषणा गरेको हो। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बोइङ–७३७ म्याक्स’ मोडेलका विमानका हकमा जबसम्म सुरक्षित उडानका लागि उचित कदम उठाइँदैन र जरुरी सुधार गरिँदैन तबसम्म उडानमा प्रतिबन्ध लगाइएको छ।’
इयू एभिएसन सेफ्टी एजेन्सीले पनि सावधानीस्वरुप विमान उडानमा रोक लगाएको जनाएको छ।
इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि ‘बोइङ–७३७ म्याक्स’लाई चीन, भारत लगायतका देशहरुले उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।
आइतबार भएको सो विमान दुर्घटनामा चालक दलका ८ सदस्यसहित १ सय ५७ जनाको मृत्यु भएको थियो। इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको सो विमान केही मिनेटमै दुर्घटनामा परेको थियो।
योसँगै पछिल्लो ५ महिनामा ‘बोइङ–७३७ म्याक्स’ मोडेलका दुई वटा विमान दुर्घटनामा परेका छन्। गत अक्टोबरमा लायन एयरलाइन्सको ‘बोइङ–७३७ म्याक्स’ मोडेलको विमान इन्डोनेसियाको जाकर्ताबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा विमानमा रहेका सबै १ सय ८९ जनाको मृत्यु भएको थियो।
लायन एयरलाइन्सले सो विमान दुर्घटना हुनुभन्दा ३ महिनाअघि मात्रै खरिद गरेको थियो।
तर, अमेरिकी अधिकारीहरुले भने विमान सुरक्षित रहेको दाबी गरेका छन्। यद्यपि युयस एसोसियसन अफ एटेन्डेन्ट्स–सिडब्लू युनियनले भने सावधानी अपनाउँदै ‘बोइङ–७३७ म्याक्स’को उडानमा अस्थायी रुपमा रोक लागाउन संघीय उडान प्रशासनसँग अपिल गरेको थियो।
‘बोइङ–७३७ म्याक्स’को व्यापारिक प्रयोग सन् २०१७ बाट सुरु भएको थियो। सो क्रममा कम्पनीले उडान सुरक्षालाई लिएर अधिकतम मात्रामा दाबी गरेको थियो।
यस मोडलको प्रयोग भारतमा २ विमान कम्पनीहरु स्पाइसजेट र जेट एयरवेजले गर्दै आएका छन्। स्पाइसजेटले भने ‘बोइङ–७३७ म्याक्स’को प्रयोगबाट हरेक वर्ष इन्धनमा १५ लाख डलर बचत हुने दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।