धनगढी- कैलालीमा विवाहकाे एक गाडीमा आगजनी गरिएकाे छ। बुधबार मध्यरातमा विवाहकाे ब्यान्डबाजा सवार गाडीमा आगजनी गरिएकाे र गाडी क्षतिग्रस्त बनेकाे कैलाली प्रहरी प्रमुख आभुषण तिमल्सिनाले बताए।
तिमल्सिनाका अनुसार केलालीकाे मसुरिया र राजीपुरकोबीच जंगलमा म१ख ४४१ नम्बरकाे गाडीमा आगाे लगाइएकाे हाे।
'हामीले मध्यरातबाटै सवारी आवतजावतमा सुरक्षा प्रदान गर्दै जिल्ला वारपार गर्ने तयारी गरेका थियाैं। तर, विवाहकाे सवारी भनेर जान दिइएकाे थियाे', उनले भने, 'तर, जंगलकाे बीच भागमा पुगेपछि बसमा सवार सबै ब्यान्ड टाेलीलाई निक्लिन लगाइ आगाे लगाइएकाे रहेछ।'
घटनाका बारेमा थप अनुसन्धान भइरहेकाे र राजमार्ग क्षेत्रमा यात्रा गर्ने सवारी तथा यात्रुलाई उचित सुरक्षा व्यवस्था मिलाइएकाे पनि उनले जानकारी दिए।
यसका अलावा धनगढी आउँदै गरेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका ३ जनालाई गाेदावरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। 'गाेदावरीमा आज बन्दकाे दिनमा पनि किन सवारी चलाएकाे भन्दै सार्वजनिक सवारी राेक्दै गरेकाे अवस्थामा ३ जनालाई पक्राउ गरिएकाे छ', तिमल्सिनाले भने।
पक्राउ परेकाहरुलाई कानुनअनुरुप म्याद थपी थप अनुसन्धान अघि बढाइएकाे उनले जानकारी दिए।
यसैबीच नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेकाे नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेकाे छ। सुदूरपश्चिमको राजधानी धनगढी बजारमा छाेटाे तथा लामाे दूरीका सवारीहरु चल्न सकेका छैनन्। अधिकांस बजार, कलकारखाना, शैक्षिक संस्था बन्द रहेका छन्।
प्रहरी उपरीक्षक तिमल्सिनाले लामाे दूरीका सवारीलाई स्कर्टिङ गरी गन्तव्यसम्म पुर्याइएकाे बताए। छाेटाे दूरीका सवारी तथा बजार क्षेत्रमा पनि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएकाे उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।