काठमाडाैं- सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा ‘मर्ज’ गर्ने तयारी गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा ‘मर्ज’ हुने गरी आवश्यक नियमावली बनाउन लागिएको जानकारी दिए।
मंगलबार नेपाल सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एउटै विषय र क्षेत्रमा प्रतिष्पर्धा गरिरहेका सहकारी संस्थाहरुलाई पनि 'मर्ज' हुने गरी नियमावली बनाउने तयारी गरिएको स्पष्ट पारे।
सहकारी संस्थाहरुको संख्या बढिरहेका बेला सरकारले त्यसलाई नियमन गर्न ‘मर्जर’ अभियानलाई अघि बढाउन लागेको हो। सचिव मैनालीले वडा स्तरमा, स्थानीय तहको स्तरमा र प्रदेश स्तरमा सहकारी संस्थाहरुको 'मर्ज' हुने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारे।
सरकारले सहकारी मर्जरसम्बन्धी नयाँ बनाउन लागेको नियमावलीमा २०४९ साल जेठ २ गते अघिका साझा सहकारी संस्थाहरुलाई भने मर्ज नगर्ने प्रस्ताव पनि गरिएको छ। सचिव मैनालीले सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउन सरकारले आवश्यक ऐन, नियम, नियमावली बनाउने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।