काठमाडौं- बढ्दो बैंकिङ ब्याजदरका विषयमा उद्योगी र बैंकहरुबीच छलफल भएको छ। उद्योगी र बैंकरबीचको छलफलमा बैंकर उद्योगीका मागप्रति सकारात्मक देखिएका छन्।
तर, बैंकरहरूले तरलता सहज भएको अवस्थामा ब्याजदर घट्ने निष्कर्षसमेत निकालेका छन्। केही दिन अघि मात्रै बैंकर र उद्योगीबीच बढ्दो ब्याजदरका विषयमा विवाद बढ्दै गएपछि अर्थमन्त्री युवराज खतिवडाले दुबै पक्षलाई मिलेर जान सुझाव दिएका थिए।
मन्त्री खतिवडाले दुईपक्षिय विवाद उद्योगी र बैंकरले सहमतिमा नमिलाए सरकार टुलुटुलु हेरेर नबस्ने बताएका थिए। मन्त्री खतिवडाले आपसी सहमतिमा ब्याजदरको समस्या समाधान नभए सरकारले हस्तक्षेप गर्ने बताएका थिए। मन्त्री खतिवडाको सुझावपछि सोमबार उद्योगी र बैंकर छलफलमा बसेका थिए।
ब्याजदर र सेवाशुल्क कसरी घटाउने, डकुमेन्टेसनको झन्झटिलो व्यवस्था कसरी अन्त्य गर्ने, केवाइसीलाई कसरी सहज बनाउने र तरलता सहज बनाउन के गर्ने भन्ने विषयमा व्यवसायी र बैंकरबीच छलफल भएको थियो।
बैंकर व्यवसायी छलफल तथा वार्ताकै माध्यमबाट समस्या समाधान गर्न सहमत भएका छन्।
स्प्रिड रेट ४ प्रतिशतभन्दा माथि राख्न नहुने, ऋणका लागि पेस गर्नुपर्ने डकुमेन्ट एकैखाले हुनुपर्ने र सेवाशुल्कमा समेत एकरूप हुनुपर्ने माग उद्योगीको रहेको वार्तामा सहभागी एक उद्योगीले जानकारी दिए।
छलफलमा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, व्यवसायीहरु उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, विजय वैद्य र गोपाल खनाल उपस्थित थिए।
बैंकको चर्को ब्याजदरका विरुद्ध व्यवसायीहरु सडक आन्दोलन मै उत्रिएपछि बैंकर र व्यवसायीबीच सम्बन्ध चिसिएको थियो। गत माघ १३ गते विराटनगरका उद्योगी/व्यवसायीहरु सडक आन्दोलनमै उत्रिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।