काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने वस्तुलाई प्रतिबन्ध लगाउने गरी संसदमा सेफगार्ड्स, एन्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ विधेयक पेस गरेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड्स, एन्टीडम्पिङ तथा काउन्टरभेलिङ विधेयक पेस गरेका हुन्।
प्रतिनिधिसभाले विधेयक पारित गरेपछि अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता र ब्रान्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्ध हुनेछ।
उद्योगमन्त्री यादवले लागत मूल्यभन्दा कम मूल्यमा आयात वा सहुलियत प्राप्त मालवस्तुको अत्यधिक आयात हुँदा स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाको अन्त्य गर्न सघाउ पुर्याउन विधेयक पेस गरेको बताए।
'विदेशी कम्पनीलाई नत्थि लगाउन नभई स्वदेशी उत्पादनको बजार व्यवस्थित गर्न विधेयक ल्याउनु परेको हो,' उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादव भने।
यसअघि सांसदहरुले विधेयक ल्याउन ढिलो भएको भन्दै गुनासो गरेका थिए।
सरकारले गत फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता गरेको थियो।
विधेयक हुबहु पारित भए अन्तर्राष्ट्रिय बजारबाट नेपाल आउने वस्तुको आयातमा रोकिने छ भने डम्पिङ गरिएका वस्तुमा भन्सार र अतिरिक्ति शुल्क लाग्ने छ। यसैगरी बाहिरी बजारबाट भित्रने सहुलियत तथा अनुदान प्राप्त मालवस्तुमा पनि प्रतिबन्ध लाग्ने छ।
विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले यस्ता वस्तुको आयातनिर्यात गर्न नहुने बताएपनि नेपालमा हालसम्म यस्ता वस्तु आयात रोकिन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।