काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी बढाउन अन्तराष्ट्रिय दाताहरुलाई पुनः आह्वान गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको पनि स्पष्ट पारेका थिए।
सरकारले आगामी चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्ने भएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकलाई समृद्ध बनाउनका लागि आवश्यक लगानीको व्यवस्था गर्न सरकारले सम्मेलन आयोजना गर्न लागेको बताए।
आईतबार काठमाडौंमा आयोजित ‘ट्राभल हिमायलय म्यागजिन’को वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालको समृद्धिका लागि सरकारले पर्यटन पूर्वाधारको विकासमा जोड दिएको पनि उल्लेख गरे।
'बाह्य पर्यटक भित्र्याएर मुलुकलाई समृद्ध बनाउने अभियान साकार बनाउन पूर्वाधार लगानी बढाउनुपर्ने छ। यसका लागि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमान स्थल, निजगढ विमानस्थल निर्माणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको छ,' परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ।
परराष्ट्रमन्त्री ज्ञवालीले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाउन लागेको पनि स्मरण गराएका थिए।
यसअघि पनि पटकपटक मन्त्री ज्ञवालीले नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।