काठमाडौं- काठमाडौंमा अन्तराष्ट्रिय स्तरको किसान सम्मेलन सुरु भएको छ। काठमाडौंमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना गरिएको हो।
‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन’ नाम दिइएको सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको दाबी गरेका थिए।
त्यसका लागि कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणमा जोड दिने प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले 'मानव स्वास्थ्यका लागि स्वस्थकर खाद्य वस्तु उत्पादन गर्न कृषकहरुलाई आह्वान गर्दछु,' सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बताएका थिए।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनमा वृद्धि गर्न सरकारले वन भित्र पनि खेती गर्ने योजना तय गरेको बताए।
त्यसका लागि कानुन निर्माणको कामलाई सरकारले अन्तिम चरणमा पुर्याएको पनि मन्त्री खनालले जानकारी दिएका थिए।
तिन दिनसम्म चल्ने अन्तराष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेशिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिव ३ सय ५० जनाको सहभागिता रहेको छ।
सम्मेलनबाट नेपालको कृषि क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक योजना, नीति र कार्यक्रम तय गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।