काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले छुट्टै मधेशको माग राख्दै आएका सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताएका छन्।
शनिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पद भएकाले सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन्।
'राउतसँगको सहमतिका विषयमा पार्टीभित्र आवश्यक छलफल नै भएको छैन। स्थायी समिति, केन्द्रीय कमिटीमा छलफलको चलाउनुपर्यो,' नेता रावलले भने, 'राउतले राज्यद्रोहको नीति परित्याग गरेर शान्ति प्रक्रियामा अवतरण गरेको हो होइन भन्ने विषयमा पनि बहस गर्न आवश्यक छ।'
नेता रावलले पार्टी साम"हिकतामा नभई एक वा दुई जनाको निर्देशन र चाहना अनुसार संञ्चालन भएको भन्दै असन्तुष्टि जनाएका थिए।
राजद्रोहको मुद्धामा सरकारले नै कारबाही गरेको व्यक्तिलाई कुनै भुभाग जितेर आएजस्तो गरी सम्मानका साथ आकस्मिक रुपमा सार्वजनिक कार्यक्रम गरिनु अस्वभाविक भएको उनको टिप्पणी थियो।
ससस्त्र द्वन्द्वकालीन समयका मुद्दा अझै किनारा लागि नसकेको अवस्थामा राज्यले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्तामाथि लागेका सबै मुद्धामा छुट दिन नमिल्ने तर्क उनको थियो।
सरकारले राउतसंग गरेको सहमतिको सत्तारुढ दल नेकपाको शीर्ष तहमा नै असन्तुष्टि देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।