काठमाडौं- कवि गोविन्दराज विनोदीको महाकाव्य ‘कैकेयी’ राजधानीमा लोकार्पण गरिएको छ।
साहित्यकार एवं प्राध्यापक डा. चूडामणि बन्धु, प्राध्यापक राजेन्द्र सुवेदी, कवि एवं समालोचक प्रभा भट्टराई, साहित्यकार भुवनहरि सिग्देल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा महाकाव्यको विमोचन गरे।
महकाव्यमाथि बोल्दै प्राध्यापक राजेन्द्र सुवेदीले रामायणमा उपेक्षित नारी पात्र ‘कैकेयी’लाई केन्द्रमा राखी सिर्जना गरिएको महाकाव्य कला भाव, बिम्ब–प्रतीक र महाकाव्यिक चेतनाको दृष्टिले उत्कृष्ट रहेको बताए।
अर्का प्राध्यापक बन्धुले महाकाव्य समाकालीन समयमा पठनीय रहेको बताए। समालोचक प्रभा भट्टराईले नारीवादी दृष्टिकोणले प्रस्तुत कैकेयी महाकाव्य विशिष्ट रहेको बताइन्। ‘रामायणको मिथकलाई आधुनिकतामा जोडिएको यो उत्कृष्ट महाकाव्य हो,' उनले भनिन्।
कार्यक्रममा युवा पुस्ताका छन्दकवि सुदेश सत्याल र मनोज भण्डारीले महाकाव्यका केही श्लोकहरू वाचन गरेर सुनाएका थिए।
शिखा बुक्सले प्रकाशनमा ल्याएको कृतिको मूल्य रु तीन सय रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।